आइक्यानको सकारात्मक काम, पेफासँग भयो यस्तो सम्झौता, सरकारका तीनै तहमा सिए राख्नसमेत भूमिका खेलिने !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल सरकार, अर्थ मन्त्रालय, सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा) सँग विभिन्न क्षेत्रमा वित्तीय सुधार गर्नेगरी सम्झौता भएको छ । 'इन्टिग्रेटेड पब्लिक फाइनान्सियल मेनेजमेन्ट रिफर्म प्रोजेक्ट' नाम रहेको प्रोजेक्ट अन्तर्गत वित्तीय क्षेत्रमा सुधारका काम गर्ने गरी आइक्यान र पेफाबीच सम्झौता भएको हो । नेपाल सरकार र डेभलोपमेन्ट पार्टनरबीच भएको कुल १५ मिलियन डलरमध्ये आइक्यानले ३ बर्षका लागि साँढे ७ करोड हाराहारी रकमको सम्झौता भएको हो । यो कार्यक्रम अन्तर्गत आइक्यानले विभिन्न क्षेत्रमा वित्तीय सुधारका लागि काम गर्नेछ । 

यो प्रोजेक्ट अन्तर्गत विभिन्न सम्बन्धित क्षेत्रमा वित्तीय सुधार गर्ने काम आइक्यानले पाएको हो । यसमध्ये केहि काम आइक्यानले गरिसकेको छ भने केहि काम गर्ने प्रक्रियामा छ । 'फिस्कल रिपोर्टलाइ बलियो बनाउने, कन्ट्रोल र ट्रेनीङका विभिन्न कार्यक्रम यसअन्तर्गत भएका छन् ।' सिए सरोकारसँग कुराकानी गर्दै आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले भने, 'फेफासँगको सम्झौतापछी हामीले एनएफआरएस कार्वनयन गर्ने सवालमा बढी नै जोड दिएर काम गर्न लागेका छौं । सरकारी निकाय, पब्लिक कम्पनी लगायतमा एनएफआरएसको कार्वनयन गर्ने काम हामीबाट हुन्छ । आइक्यानकै क्षमता विकासमा पनि यो प्रोजेक्ट अन्तर्गत केहि काम भएको छ र केहि काम हुँदै छ । आइक्यानको पाठ्यक्रम परिवर्तन र परिमार्जनमा पनि यो प्रोजेक्टले केहि सहयोग गरेको छ । यहि प्रोजेक्ट मार्फत हामीले एनएफआरएस सम्बन्धि तालिम गर्ने, त्यसलाई अनुगमन गर्ने, क्वालिटी एसुरेन्समा काम गर्ने, ई-लर्निङ, पाठ्यक्रम परिमार्जन लगायतका काम पनि हुनेछन् ।' अध्यक्ष थापाले भने ।

उनका अनुसार विश्वविद्यालय, र उच्च शिक्षामा पनि पाठ्यक्रममा समबन्धित बिकास गर्न पनि प्रोजेक्ट अन्तर्गत काम हुनेछ । 'कक्षा ११, १२ र विश्वविद्यालय स्तरमा भएका लेखा सम्बन्धि पाठ्यक्रमहरुलाइ परिमार्जन गर्ने काममा पनि हाम्रो सहयोग हुनेछ ।' अध्यक्ष थापाले अगाडी भने, 'यसले समग्र नेपाली लेखा व्यवसायलाई बिकास गर्नेछ भन्ने हाम्रो अपेक्षा छ ।  नेपालमा लेखा व्यावासायीहरुलाई नेपाल सरकारका तीनै तहमा राख्नका लागि पनि भूमिका खेल्ने काम पनि हामीबाट हुनेछ । पब्लिक फाइनान्सियल मेनेजमेन्टको काममा आइक्यानको भूमिका अझ बढी भएकाले उक्त काममा यो प्रोजेक्टले अझ बढी काम गर्छ भन्ने हाम्रो विश्वास छ ।'