फलोअप : एक्यानको विवादित भ्रमणबारे डस ट्राभलका सञ्चालक भन्छन्, '४ पटकसम्म मूल्य घटाएको हुँ' (कुराकानी)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आइक्यानले आरएहरुलाई १ अर्वको लेखापरिक्षण लिमिट तोक्दा पनि देखे नदेखेजसरी बसेको नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले गर्न लागेको अष्ट्रेलिया भ्रमण अहिले विवादमा छ । एकातर्फ देशको विकासका बारे ठुल्ठुला कुरा गर्नेहरु संस्थागत रुपमै देशको पैसा बाहिर लैजाने कार्यक्रम गरिरहेको भन्दै एक्यानको यो कदमको विरोध भइरहेको छ भने अर्कोतर्फ एक्यानले सस्तो ट्राभल एजेन्सी छोडेर महँगो रोजेको भन्दै पनि आलोचना भइरहेको छ । अझ केहि सिमित व्यक्तिको स्वार्थका लागि महँगो ट्राभल एजेन्सी रोजेर एक्यानभित्रै आर्थिक चलखेल भइरहेको समेत चर्चा-परिचर्चा बाहिर छ । यहि बीचमा उक्त कामको जिम्मा पाएको भनिएको डस ट्राभल चरम विवादमा छ । एक्यानका सदस्यसमेत रहेका सिए कृष्ण घर्ती संचालक रहेको यो कम्पनीलाई काम दिइएको बारे चौतर्फी आलोचना भएपछि हामीले डस ट्राभलका मालिक सिए घर्तीलाई सम्पर्क गरेका थियौं । हेरौं उनीसंग सिए सरोकारले गरेको कुराकानीको अंश : 

१. डस ट्राभल तपाईंको नै हो नि ?
हो ! म डसको संचालक हुँ । मेरो भन्दापनि मेरो पनि हो भनौं ।

२. तपाईंहरुले एक्यानका सदस्यहरुलाई घुमाउन लैजाने जिम्मा पाएको भन्ने कुरा छ नि ! कुरा के हो ?
हो ! अफिसियल रुपमै एक्यानले नोटिस जारी गरेको छ । हामीले सिएहरुलाई घुमाउने कामको प्रक्रिया सुरु गरिसकेका छौं । 

३. तर महासचिवले त डस ट्राभल फाइनल नै भएको छैन भन्नुभएको छ नि ! कुरा के हो ?
अफिसियल नोटिस नै जारी भएको छ । त्यसैले हामीले हाम्रो काम सुरु गरिसकेका छौं । महासचिवले किन त्यसो भन्नुभयो त्यसबारेमाचाहिं थाहा छैन ।

४. सस्तो ट्राभल एजेन्सी छोडेर तपाईंहरुको कम्पनीलाई जिम्मा लगाइयो भन्ने आरोप छ नि !
सुरुमा हामीले झन् महँगो कोटेसन दिएका थियौं । अध्यक्षको अनुरोधमा घटाएका हौँ । थोरै मात्र प्रफिट मार्जिन छ । त्यस्तो महँगो छ जस्तो मलाई लाग्दैन । साच्चै भन्दा ४ पटकसम्म हामीले मूल्य घटाएका छौं । त्यसपछी चाहिं बरु काम नै नगर्ने यहाँभन्दा सस्तो सकिन्न भन्ने निष्कर्ष निकालेर अहामीले कोटेसन दिएका हौँ ।  

५. एक्यानका कतिपय व्यक्तिले यहि विषयलाई लिएर बदमासी गर्दैछन् वा सित्तै घुम्न जाँदैछन् भन्ने कुरा के हो ?
त्यस्तो होइन । सबैले समान रुपमा पैसा तिर्ने हो ।

६. तपाईंको कम्पनिलाई नै किन रोजियो त ? कुनै आइडिया ?
मलाई कोटेसन मागिएको थियो । मैले दिएँ । यो त सार्है महँगो भयो घटाउनु पर्यो भन्नु भयो । मैले सकेको घटाएं । उहाँहरुले अझ घटाउन भन्नु भयो । फेरी केहि घटाईएपछीको रेट हो त्यो ।

(सार्वजनिक खरिद ऐन अनुसार काम भएको देखिंदैन । किनकि यहाँ सस्तो कुन छ भन्दा पनि जसरी पनि मिलाएर डस ट्राभललाइ नै जिम्मा दिने गरी काम गरेको देखियो। )

७. अन्त्यमा तपाईं आफैं सिए हो । आफैं एक्यानको सदस्य । आइक्यानले आरएहरुलाई दिएको १ अर्वको अडिट लिमिटबारे आन्दोलन गर्न छोडेर सिएहरु घुम्न जाँदै गरेको कुरालाई कसरी लिनुहुन्छ ?
त्यो प्रसङ्गलाइ घुमाइसंग जोड्नु भएन । आइक्यानको निर्णयले सार्है नमज्जा लागेको छ । एक्यानले आन्दोलन गरेन भन्ने कुराले झन् रिस उठेको छ । तर त्यो कुरा र यो भ्रमणको कुरालाई संगै जोड्नु हुन्न भन्ने मलाइ लाग्छ ।

७. किन र ? तपाईं प्राक्टिसमा हुनुहुन्न कि क्या हो ?
हो म प्राक्टिसमा छैन । कन्सल्टेन्सी चलाएर बसेको छु । यो ट्राभल पनि चलाइएको छ ।

यो पनि पढ्नुहोस् :

विवादमा एक्यानको अष्ट्रेलिया भ्रमण : अध्यक्ष र महासचिवकै कुरा बाझियो, 'कष्टिङ'मा पनि उठ्यो गम्भीर प्रश्न !