विधा लक्ष्मी ढकालको कविता-'सिए बन्ने बाटोमा हराएको जिन्दगी'

  •  विधा लक्ष्मी ढकाल
जिन्दगी,
ए जिन्दगी
के सोच्थ्यें
म तँलाई 
के भै आइस्  !!
मेरो कल्पनाभन्दा बाहिर
खोइ के-के भइस !!
न निल्नु, न ओकल्नु
दोधार भै आइस !!
जिन्दगी
ए मेरो जिन्दगी !!


मेरो रिजल्टको दिन
जब,
बा-आमालाई हेर्छु
थाकेको त्यो जिउ
युद्दमा हारेका सिपाहीजस्तै
चाउरी परेका गाला
पटपट फुटेका हत्केला,
हरेकपटक भन्छु बा-आमालाई,
बा-आमा, अब अन्तिम छ महिना

छ महिनापछि फेरि
बा-आमा भन्नुहुन्छ
'अब त अति भो'
'अझै कति छ महिना ?'
म भन्छु फेरी
यो सधैंको लागि
अन्तिम छ महिना ,
तर
कहिले एग्रीगेटको कमी
कहिले पास नम्बरको कमी 
कहिले के कमी
जहिले पनि,
उही घुमीफेरी
जुन- डिसेम्बर , डिसेम्बर-जुन
जिन्दगी मेरो चल्दै छ यसैगरी !!

बा-आमा डाँडापारिको जुन हुनै लागिसके
साठी बसन्त जिन्दगीको छुनै लागिसके
भन्छन् सधैं दोहोर्याई- तेहेर्याई
तिमी पास भएको अर्को दिन
बस्दै बस्दैनौं,हामी बस्दैनौं,
फर्कन्छौं आफ्नै जन्मेको ठाउँ 
अब त हामीले बिदा पाउँ 
यी बुढा गोरुले कति दिन जोत्नु ?
सक्दैनौँ अव, आफ्नै बाटो रोज्नु
पाखुरा बलियो हुनजेल कमायौं
छोराछोरी हाम्रा हुर्काए बढायौं
दुखै दुखको यो हाम्रो जुनी
जति गरेपनी कहिले नहुनी !!

सम्झेर आउँदा बिरक्त लाग्छ
आफैले आफैलाइ धिक्कार लाग्छ
साथी भाइले नाम अगाडी सीए लेख्दा
सामाजिक संजालका भित्तामा देख्दा
भित्रभित्र बेस्सरी
रुन मन लाग्छ
त्यी भाग्यविधातालाई
सोध्न मन लाग्छ
कस्तो कर्म लेख्यौ
त्यो छैटिको दिन
अकालमा ज्यान फाल्न
नि सक्दिन,
बाचेर पनि खासै
केही गर्न सकिन !!

(Bidhya Laxmi Dhakal, Cap 2 Putalisadak)