फर्मले आर्टिकल ट्रेनीहरुलाई बढी स्टाइपेण्ड दिँदा आइक्यानको टाउको किन दुख्यो ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आइक्यानले तोकेको स्टाइपेन्डभन्दा बढी रकम दिने सिए फर्मलाई त्यसो नगर्नू भन्ने आशयसहितको स्पष्टीकरण सोधेर तर्साउने काम गरेको छ । केहि दिन अघि आइक्यानले बढी स्टाइपेन्ड दिने सिए फर्महरु खोजी खोजी उक्त कार्य कुन नियम अनुसार भएको हो जवाफ पठाउन भनी तर्साउने काम गरेको छ । जवकी आइक्यानले कम्तीमा कति रकम दिनुपर्ने व्यवस्था गरेको छ भने बढीमा कतिसम्म दिन पाइने भन्ने कुनै पनि नियम बनाएको छैन ।

तर आर्टिकल ट्रेनीहरुको व्यापक खडेरी लागिरहेका बेला विद्यार्थीहरुलाई पेल्ने र कम रकम दिएर शोषण गर्न पल्किएका केहि सिएहरुको निर्देशनमा आइक्यानका कार्यकारी निर्देशक संजय सिन्हाको हस्ताक्षर गरिएको पत्र विभिन्न सिए फर्महरुमा पुगेको छ । जवाफमा सबैजसो सिए फर्मले आफुहरुले विद्यार्थीहरुलाई दिइरहेको रकम नियम अनुसार भएको र आइक्यानको नियम अनुसार बढी कतिसम्म दिन पाइने भन्ने नियम नरहेको उल्लेख गरेका छन् । यसमा आइक्यानलाई केहि ठुला सिए फर्महरुले पनि प्रभावमा पारेको आशंका गरिएको छ ।

अझ अर्को चाखलाग्दो पक्ष के छ भने आइक्यानका कार्यकारी निर्देशकले आइक्यानसँग कुनै न कुनै रुपमा नजिक रहेका र यसरी बढी रकम दिइरहेकाहरुलाई पत्र काटेको छैन । बरु बजारमा इथिकल रुपमा काम गर्ने भनी चिनिएका सिए फर्महरुलाई तर्साउने काम गरेको छ । यद्यपी ती सिए फर्महरुले पनि आफुहरुले विद्यार्थीको मेहेनतको कदर गरेर नै बढी रकम दिंदा आइक्यानको टाउको किन दुखेको होला भनी प्रश्न गरिरहेका छन् ।

लामो समय देखि आइक्यानले उचित व्यवस्था नगर्दा आर्टिकल ट्रेनीहरु निकै कम शुल्कमा काम गर्न बाध्य छन् भने केहि सिए फर्महरुले स्टाइपेन्ड बढाउँदा पनि आइक्यानले टाउको दुखाएको छ । यसले पनि आइक्यान कसरी चलिरहेको छ र आइक्यानलाई केहि सिएहरुले कसरीसम्म प्रभावमा पारेका छन् भन्ने बुझ्न सकिन्छ ।


यस विषयमा बुझ्न हामीले पत्र काट्ने आइक्यानका कार्यकारी निर्देशक संजय सिन्हालाई फोन गरेका थियौं । तर उनको फोन अफ छ ।