चार्टर्ड एकाउन्टेन्ट खुमा अर्यालको नेतृत्वमा दाङमा ३ सय शैयाको अस्पताल निर्माण हुँदै

  • सिए सरोकार सम्बाददाता
दाङ । चार्टर्ड एकाउन्टेन्ट खुमा अर्यालको नेतृत्वमा दाङमा अस्पताल निर्माण हुने भएको छ । दाङको घोराहीस्थित गोगलीमा सुविधा सम्पन्न ३ सय शैयाको अस्पताल निर्माण हुने भएको हो । सञ्जिवनी ग्रुप अफ कम्पनीजले सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडीज एण्ड टिचिङ हस्पिटल प्रालीको निर्माण कार्यको शिलान्यास गरेको छ । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र सञ्जिवनी ग्रुप अफ कम्पनीजका अध्यक्ष खुमा अर्यालले अस्पतालको शिलान्यास गरेका हुन् ।

ग्रुपका अध्यक्ष सिए अर्यालले नेपालगञ्ज र बुटवलमा सुविधा सम्पन्न अस्पताल भए पनि त्यसको बीचमा पर्ने राप्ती क्षेत्रमाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा साविकको राप्ती अञ्चलका र आसपासका जिल्लालाई सहज हुने गरि योजना बनाइएको बताए । उनले भने, ‘यो शिलान्यास मात्र हैन अबको एक वर्षमा अस्पताल निर्माण भएर अर्को वर्ष आजकै दिन निर्माण सम्पन्न गर्छौं, निर्माण सम्पन्न मात्र हैन, त्यसमा सबै किसिमका विशेषज्ञ सेवा हुनेछन्’। यस्तै सेवा सुरु गरेको पहिलो दिनबाटै क्रिटिकल केयरको लागि सय शैयाको व्यवस्था गर्ने पनि उनले बताए ।

४ विघा क्षेत्रफल ओगट्ने अस्पताल क्षेत्रमा अस्पतालको भवन २ लाख ९८ हजार स्क्वायर फुटमा निर्माण हुने भएको छ । इन्स्टिच्युटले पहिलो चरणमा १ वर्ष भित्र सुविधा सम्पन्न ३ सय शैया क्षमताको अस्पताल निर्माण गरि सेवा सुरु गर्ने भएको र ३ वर्ष भित्रै ५ सय शैयाको पुर्याउने ग्रुपका महाप्रबन्धक सन्तोष कुमार खनालले जानकारी दिए । कुल साढे दुई अर्ब लागतमा निर्माण गरिन लागेको अस्पतालले सात सय जनालाई प्रत्यक्ष रोजगारी पाउने महाप्रबन्धक खनालले जानकारी दिए । अस्पतालको लगानीको ७० प्रतिशत वित्तिय व्यवस्थापन सिभिल बैंक लिमिटेडले गर्ने भएको छ ।