अन्तत: 'राजश्री प्रकरण' अनुशासन समितिमा पठाउने आइक्यान काउन्सिलको निर्णय, अवको ७५ दिनभित्र हुनेछ कारवाहीको छिनोफानो !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । लेखापरीक्षणमा हदैसम्मको लापरवाही गर्ने दिव्यश्वरी हाइड्रोपावरमा लेखापरीक्षक राजश्री हुमगाईंलाई कारवाहीको सिफारिस भएकोमा उक्त सिफारिस अनुशासन समितिमा पठाउने आइक्यान काउन्सिलले निर्णय गरेको छ । आइक्यान काउन्सिल बैठकमा एजेन्डा आएपनि 'आफ्नो मान्छे' भन्दै केहि काउन्सिल सदस्यहरुले उक्त केस अगाडी बढाउन दिएका थिएनन् । तर यसबारे विस्तृत जानकारीसहितको समाचार सिए सरोकार डटकमले सार्वजानिक गरेपछि आइक्यानका काउन्सिल सदस्यहरु यो प्रकरणलाई अन्तिम रुप दिन अनुसासन समितिमा लैजान राजी भएपछी काउन्सिलको बैठकले यो केस अनुशासन समितिमा पठाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो । जसको आइतबार औपचारिक माइन्युटसमेत तयार गरिसकिएको छ । यसअघि बैठक नम्बर २४४ को मिति २०७७ साल असार ११ गते बसेको बैठकमा समेत राजश्री हुमागाईंलाई गरिएको कारवाहीको सिफारिस अनुशासन समितिमा पठाउने निर्णय भएपनि माइन्युट गर्ने बेलामा बहुमत काउन्सिल सदस्यहरुले यो केस फिजिकल बैठकमै लैजानुपर्ने भन्दै यो केसलाई अगाडी बढाउन दिएका थिएनन् । तर सिए सरोकारले घटनाको नालेबेलीसहित समाचार प्रकाशन गरेपछि अन्तत: आइक्यानको काउन्सिल बैठकले उनलाई कारवाहीको सिफारिस अनुशासन समितिमा पठाउन तयार भएको हो ।

अव आइक्यानको अनुशासन समितिले ७५ दिनभित्र राजश्री हुमागाईंलाई कस्तो कारवाही गर्ने भन्ने निर्णय गर्नेछ । अनुशासन समितिमा पुगेको केस ७५ दिनभित्र फाइनल गरिसक्नुपर्ने कार्यविधि यसअघि नै पास भइसकेको छ ।  आइक्यानका कार्यकारी निर्देशकले नै कारवाहीको सिफारिस गरेका हुनाले उनलाई कारवाही हुँदैन कि भन्ने शंका गर्ने ठाउँ सून्यप्राय: छ । राजश्री हुमागाईंलाई कति महिनाका लागि लेखापरीक्षण गर्न नपाउनेगरी कारवाही गर्ने भन्ने विषय समितिमा छलफल हुनेछ । कानुनअनुसार बढीमा ५ बर्षसम्म लेखापरीक्षण गर्न नपाउनेगरी कारवाही गर्न मिल्ने प्रावधान छ । तर आइक्यानले ५ दिनकै लागि मात्र कारवाही गर्यो भने पनि कम्पनी ऐन अनुसार राजश्री हुमागाईंले ३ बर्षसम्म कम्पनी ऐन अनुसार कुनै पनि पब्लिक कम्पनीको लेखा परिक्षण गर्न पाउने छैनन् ।

उनलाई कारवाही गर्ने बिषयमा यसअघि ९ जनाले नोट अफ डिसेन्टको आशय जानेगरी 'यो केसमा अहिले नै निर्णय नगरौं भनी इमेल गरेका थिए । तर शुक्रबारको बैठकमा उनलाई कारवाहीको सिफारिस गर्ने विषयमा कसैको पनि नोट अफ डिसेन्ट नआएको एक काउन्सिल सदस्यले पुष्टी गरे । ती काउन्सिल सदस्यका अनुसार उक्त बैठकमा विद्यावारिधि सिग्देल र किरण डंगोल भने अनुपस्थित थिए ।

'पहिला पनि साथीको श्रीमती भएर बचाउन खोजेको होइन ।' एक काउन्सिल सदस्यले नाम नबताउने सर्तमा भने, 'त्यो बेला पनि कारवाही नगर्ने भन्ने हाम्रो मत थिएन । अहिलेका लागि मात्र यो केस अलि बढी छलफल गरौँ भन्ने थियो । तपाईंहरुले समाचार नै तयार गरेर सबै जानकारी दिएपछि थप छलफल गर्न आवश्यक ठानेनौं । २ काउन्सिल सदस्य बैठकमा आउनुभएन । बाँकि कसैको नोट अफ डिसेन्ट छैन । सिए सरोकारमा समाचार नै आइसक्यो भनेपछि हामीलाई नैतिक प्रेसर परेकै हो । केस सिरियस छ । उनलाई कारवाही हुने कुरामा दुईमत छैन । प्रोसेस अगाडी बढिसक्यो ।'
https://www.casarokar.com/2021/02/Rajshree-H-.html