काठमाडौँमा बिहीबारदेखि लेखा व्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना हुँदै



  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले बैशाख ६ र ७ गते लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै आईक्यानले तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी दिएको हो ।

लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिने, आर्थिक सुशासन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र संस्थाका सदस्यको भूमिका बढाएर मुलुकको अर्थतन्त्र सबल बनाउन योगदान दिन तेस्रो राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागिएको आईक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले बताएका छन् ।

‘नेपालको परिपेक्षमा अन्य क्षेत्रका मान्छेहरु पर्याप्त भएपनि चार्टर्ड एकाउन्टेन्ट्सको सहभागिता खासै धेरै छैन । भए पनि विज्ञको रुपमा मात्र रहेको छ ।’, अध्यक्ष काफ्लेले भने, ‘त्यसैले करको परीक्षण, कर निर्धारणका क्षेत्रमा लेखा परीक्षकहरुको सहभागिता कसरी बढाउन सकिन्छ भन्ने बारे सम्मेलनमा जानकारी दिइने छ ।’


काफ्लेका अनुसार सम्मेलनको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट्सहरूको भूमिका राज्यका निकाय तथा सार्वजनिक संस्थाको वित्तीय कारोबारलाई प्रमाणित गर्ने मात्र नभई आर्थिक सुशासन कायम गर्नका लागि पनि महत्वपूर्ण रहेको अध्यक्ष काफ्लेले बताएका छन् । उनले मर्यादित लेखा व्यवसायमार्फत पेसागत विश्वास जगाउन आवश्यक भएको उल्लेख गरेका छन् ।


दुई दिनसम्म चल्ने सम्मेलनमा छुट्टाछुट्टै पाँच सत्र सञ्चालन हुनेछन् । विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा संस्थासँग सम्बन्धित वृत्तचित्र पनि सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ ।